काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले माओवादी पार्टी अहिले सङ्कटपूर्ण अवस्थामा रहेको बताएका छन्। शनिवार धनकुटाको छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्न संसद्मा राजावादीहरूसँगै उभिनुपर्दा पीडा हुने गरेको उल्लेख गरे ।

‘भ्रष्टाचारको विरोध गर्न राजावादीहरूसँग उभिनुपर्दा दुख्छ,’ किराँतीले भने, ‘तर राजावादीहरूको विरोध गर्दा भ्रष्टाचारीहरूसँगै उभिनुपर्दा झन् पीडा हुन्छ । राजनीतिक र नैतिक रूपमा हामी माओवादी सङ्कटमा छौँ । हामी गणतन्त्रका पक्षधर हौँ र भ्रष्टाचार हाम्रो शत्रु हो । त्यसैले हामी भ्रष्टाचार सहन सक्दैनौँ ।’
फरक प्रसङ्गमा उनले माओवादीले अब आफ्नै बाटो तय गर्नुपर्नेमा जोड दिए । ‘हामी आफ्नै खुट्टामा उभिनुपर्छ र गणतन्त्रको पक्षमा दृढतापूर्वक अघि बढ्नुपर्छ,’ उनले भने, ‘साथै भ्रष्टाचारीहरूको पर्दाफास गर्दै जानुपर्छ ।’
उनले भिजिट भिसाको आडमा मानव तस्करी भइरहेको भन्दै सरकारको आलोचना गरे। ‘भिजिट भिसाको नाममा मानव तस्करी गर्ने सरकारले विश्वसामु नेपालको छवि धमिलो बनाएको छ,’ किराँतीले भने, ‘गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले संसद्मा जवाफ नदिए हामी संसद्लाई सङ्घर्षको मैदान बनाउनेछौँ ।’














