Logo
Logo

राइड सेयरिङका लागि कोशीमा छुट्टै नम्बर प्लेटको व्यवस्था


252
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी विवादमा यातायात व्यवसायीको मागलाई सम्बोधन गर्दै छुट्टै रङको नम्बर प्लेटको व्यवस्था गर्ने भएको छ । गत १७ वैशाखमा जारी अध्यादेशमार्फत राइड सेयरिङलाई कानुनी मान्यता दिइए पनि कार्यान्वयनका लागि नियमावली बनाउन बाँकी छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रातो नम्बर प्लेटका निजी सवारीलाई राइड सेयरिङमा प्रयोग गर्न नदिने अडान राख्दै छुट्टै नम्बर प्लेटको माग गरेको थियो । महासंघका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले सेवाग्राहीले राइड सेयरिङ सवारी चिन्न छुट्टै नम्बर प्लेट आवश्यक रहेको बताए । “रातो नम्बर प्लेट प्रयोग गर्न दिँदा जोखिम हुन्छ, त्यसैले छुट्टै रङको नम्बर प्लेट चाहिन्छ,” उनले भने । 

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले निजी सवारीलाई राइड सेयरिङको अनुमति दिइने, तर छुट्टै दर्ता प्रक्रिया र नम्बर प्लेटको व्यवस्था गरिने बताए । अध्यादेशअनुसार दुई र चार पाङ्ग्रे सवारीले छुट्टै अनुमति पत्र लिई तोकिएको भाडा र यात्रु बिमासहित राइड सेयरिङ सञ्चालन गर्न सक्नेछन् । 

यो व्यवस्थाले गण्डकी प्रदेशको राइड सेयरिङ नीतिसँग भिन्नता देखाएको छ, जहाँ निजी नम्बर प्लेटलाई राइड सेयरिङको अनुमति दिइएको थियो । कोशी सरकारले व्यवसायीको मागअनुसार नियमावली बनाएर राइड सेयरिङलाई व्यवस्थित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्