काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन नभएका कारण जनताले लडेर गणतन्त्र ल्याएको बताउँदै अब पछाडि फर्कने सम्भावना नरहेको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले गणतन्त्रको रक्षा र सुदृढीकरणमा सबै पेसाकर्मीको भूमिका रहेको उल्लेख गरे ।

“निरङ्कुश राजतन्त्रमा यस्ता सङ्गठन खुल्ने अवस्था थिएन । अहिले तपाईँहरू पेसागत जिम्मेवारीसहित राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ,” प्रधानमन्त्री ओलीले भने । उनले गणतन्त्र दिवस (जेठ १५) मा राजतन्त्र पक्षधरहरूले गरेको विरोध प्रदर्शनलाई व्यङ्ग्य गर्दै भने, “पहिलो दिन पैसा बाँडेर मान्छे ल्याइयो, दोस्रो र तेस्रो दिन ती घट्दै गए । मेरो नातिले डाइनोसरको कुरा गर्दा डर लागेन भनेजस्तै राजतन्त्र फर्काउने कुराले मलाई डर लाग्दैन । अब देशलाई सुशासन र विकासको बाटोमा लैजानुपर्छ, पछाडि फर्कन खोज्ने घोडालाई लात्ताले हान्न सक्छ, होस् पुर्याउनुस् ।”
प्रधानमन्त्री ओलीले राजतन्त्रको समयमा देशको अवस्था दयनीय रहेको स्मरण गर्दै दरबार हत्याकाण्डपछि आएको “नक्कली राजतन्त्र” ले झन् निरङ्कुशता लादेको र जनताको अधिकार हनन गरेको बताए । “राजतन्त्रले देश लुट्यो, संविधानमाथि बसेर पैतृक सम्पत्ति थुपार्यो । अहिले फेरि त्यही व्यवस्था ल्याउनुपर्छ भन्न लाज मान्नुपर्छ,” उनले भने । उनले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने र प्रणालीमा सुधार आवश्यक भए सुन्दर लोकतन्त्र बनाउन सकिने तर प्रतिगमन असम्भव रहेको दोहोर्याए ।
स्वास्थ्य क्षेत्रको चर्चा गर्दै ओलीले रोग लाग्नुअघि नै रोकथाममा जोड दिनुपर्ने बताए । “चिकित्सा विज्ञान र अस्पताल नभएको भए मेरो २०औँ पुण्यतिथि मनाइसकिएको हुन्थ्यो,” उनले हल्का हाँसोका साथ भने । उनले स्वास्थ्यकर्मीहरूलाई सस्तो र सुलभ उपचारको भावनासहित राष्ट्रिय दायित्वमा लाग्न आग्रह गरे। “म भगवानप्रति विश्वास गर्नेहरूको चित्त दुखाउन चाहन्न, तर डाक्टर र नर्सहरूले कठिन अवस्थामा जादुमयी रूपमा बिरामी बचाएको मैले देखेको छु । त्यसैले म भन्छु, डाक्टरहरू भगवानभन्दा महान् छन्,” उनले भने ।
प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रको असाधारण विकासको प्रशंसा गर्दै महासङ्घले निरोधात्मक सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।














