Logo
Logo

लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी प्रहार गर्नेलाई  देउवाको संरक्षण


2.3k
Shares

पोखरम । नेपाल तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनका क्रममा भएको खुकुरी प्रहारको घटनाले प्रहरीको कार्यशैली र नेपाली कांग्रेसका नेताहरूको संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ । गत जेठ ३ गते बेसीसहरमा भएको उक्त घटनामा ज्यानै मार्ने उद्देश्यले खुकुरी प्रहार हुँदा चार जना घाइते भएका थिए ।

तर, प्रहरीले तत्काल जाहेरी दर्ता नगरी अभियुक्तलाई संरक्षण दिएको भन्दै पीडितले आक्रोश व्यक्त गरेका छन् । घटनामा मध्यनेपाल नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र तरुण दलका सदस्य शङ्कर सापकोटा घाइते भए । चौतर्फी दबाबपछि जेठ १० गते जाहेरी दर्ता भएको थियो । 

पाँचजनाविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले किरण गुरुङलाई जेठ १५ गते पक्राउ गरे पनि बाँकी चार जना– कुमराशी गुरुङ (भूपेश), धनबहादुर तामाङ, गणेश गुरुङ र होमराज घले– अझै फरार छन् ।

नेताहरूको संरक्षण

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले फरार अभियुक्तको खोजी भइरहेको बताए पनि पीडितहरूले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् । “ज्यान मार्ने नियतले खुकुरी प्रहार भयो, तर प्रहरीले सुरुमा जाहेरी लिन मानेन । पक्राउ पुर्जी जारी भए पनि फरार अभियुक्त नेताहरूसँगै हिँडिरहेका छन्,” घाइते सुदीप अधिकारीले भने । उनले फरार अभियुक्त कुमराशी गुरुङ (भूपेश) ले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएकोप्रति आक्रोश व्यक्त गरे । 

तरुण दलका कार्यवाहक अध्यक्षसमेत रहेका भूपेशसहित फरार अभियुक्तहरूले देउवासँग भेटघाट गरेको तस्बिर तरुण दलका केन्द्रीय सदस्य सरोजबहादुर केसीले सामाजिक सञ्जालमा राखेका थिए, जुन पछि सम्पादन गरी हटाइयो । भेटमा गण्डकीका अर्थमन्त्री डा। टकराज गुरुङ, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण कोइराला, नेपाली कांग्रेस लमजुङका उपसभापति श्रीकान्त घिमिरेलगायत सहभागी थिए । 

लमजुङमा देउवा समूहका डा। टकराज र शेखर कोइराला–गगन थापा समूहका भेषबहादुर पौडेलबीचको गुटबन्दीले अधिवेशन हिंसात्मक बनेको हो । भूपेशलाई कार्यवाहक अध्यक्ष बनाउने प्रस्तावमा संस्थापनइतर समूहले विरोध गर्दा विवाद चर्किएको थियो । भेषबहादुर समूहले अधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै नाराबाजी गरेपछि बेसीसहर बजारमा खुकुरी प्रहार भएको थियो । 

घटनापछि पनि अधिवेशन जारी राखिएको थियो, तर देउवाको फोनपछि स्थगित भएको थियो। अहिलेसम्म अधिवेशन पुनः सञ्चालन हुन सकेको छैन । पीडितहरूले फरार अभियुक्तहरू नेताहरूको संरक्षणमा खुलेआम हिँड्दा पनि प्रहरीले पक्राउ नगरेको भन्दै कानुनी राज्यको उपहास भएको गुनासो गरेका छन् । 

प्रहरीले  किरण गुरुङविरुद्ध सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको र बाँकी अभियुक्तलाई पनि पक्राउ गरी कानुनी दायरामा ल्याउने काम भइरहेको जनाएको छ । तर,नेताहरूको संरक्षण र प्रहरीको ढिलासुस्तीले पीडितहरूमा निराशा छाएको छ । यो घटनाले नेपाली कांग्रेसभित्रको गुटबन्दी, नेताहरूको गैर जिम्मेवार व्यवहार र प्रहरीको कमजोर कार्यशैलीलाई उजागर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्