Logo
Logo

आईपीएलमा आज पञ्जाव र मुम्बई भिड्दै


882
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो क्वालिफायरमा आज पञ्जाव किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

पञ्जाव किङ्स लिग चरणमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा बैंगलोरसँग ८ विकेटले पराजित भएको थियो । फाइनल खेल्न दोस्रो मौका पाएको पञ्जाव आजको खेलमा मुम्बईविरुद्ध जित निकाल्दै फाइनलमा स्थान बनाउन चाहन्छ ।

श्रेयस ऐरको कप्तानीमा मैदानमा उत्रेको पञ्जाव लिग चरणमा मुम्बईलाई ७ विकेटले हराएको नतिजालाई दोस्रो क्वालिफायरमा पनि निरन्तरता दिने योजनामा छ । सन् २०१४ को उपविजेता पञ्जावले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन र यसपटक पहिलो पटक उपाधि नजिक पुग्न चाहन्छ ।

लिग चरणमा चौथो स्थानमा रहेर एलिमिनेटर खेल खेलेको मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई पनि पञ्जावसँगको उपाधि भिडन्त पक्का गर्न चाहन्छ । पाँच पटकको च्याम्पियन मुम्बई (२०१३, २०१५, २०१७, २०१९, २०२०) छैटौँ पटक उपाधि नजिक पुग्न पञ्जावलाई हराउने रणनीतिमा हुनेछ । अघिल्लो सिजन लिग चरणबाटै बाहिरिएको मुम्बई यसपटक उपाधि दौडमा छ ।

आजको विजेता टोलीले उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्नेछ । उपाधि भिडन्त मङ्गलबार हुनेछ । आज पराजित हुने टोली भने उपाधि दौडबाट बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्