Logo
Logo

यस वर्षकी मिस वर्ल्ड भन्छिन्- सुन्दरता फिक्का हुन सक्छ, तर उद्देश्य सधैँ बाँचिरहन्छ


882
Shares

काठमाडौं । ७२औँ ‘मिस वर्ल्ड’को उपाधि थाइल्यान्डकी ओपाल सुचाता चुआंगश्रीले जितेकी छन् । उनलाई गत वर्षकी ‘मिस वर्ल्ड’ क्रिस्टिना पेजिस्कोवाले ताज पहिराइ दिएकी थिइन् ।

यस संस्करणमा इथियोपियाकी हैसेट डेरेज दोस्रो र मार्टिनिककी अरेली योहाचिम तेस्रो भए । मे ७ देखि सुरु भएको ‘मिस वल्र्ड’को फिनाले शनिबार घोषणा भएको हो ।

मिस वर्ल्डको ग्राण्ड फिनाले भारतको तेलंगाना राज्यको हैदराबादस्थित हाइटेक्समा सम्पन्न भएको हो । मिस वर्ल्ड विजेता सुचाताले दुई दिनअघि आफ्नो इन्स्टाग्राम सोसल मिडिया ह्यान्डलमा लेखेकी थिइन्, ‘यो केवल थाइल्यान्डको प्रतिनिधित्व गर्ने मात्र होइन, यो धेरै महिलाहरूको प्रतिनिधि आवाज पनि हो, जसलाई सुनिएन । आफ्नो आवाज प्रयोग गरेर केही सार्थकताका निम्ति खडा भएको छु ।’

उनले आफ्नो यात्राको बारेमा भनेकी थिइन्, ‘मिस वर्ल्ड केवल प्रतियोगिता मात्र होइन, यो एक मञ्च र प्रतिबद्धता पनि हो । यो देखिने सुन्दरताको बारेमा मात्र होइन, बरु वास्तविक काम गर्नेबारे हो । यस यात्राले मलाई सिकायो कि सुन्दरता फिक्का हुन सक्छ, तर उद्देश्य सधैँ बाँचिरहन्छ ।’

मिस वल्र्ड संगठनले १९५१ मा ‘ब्युटी विद अ परपज’को नारासाथ यो प्रतियोगिता सुरु गरेको थियो । यसपटक मिस नेपाल श्रीछा प्रधानसहित १०८ देशका युवतीहरूले मिस वल्र्ड प्रतियोगितामा भाग लिएका थिए, तर श्रीछा फाइनलसम्म पुग्न सकिनन् ।

फाइनलमा पुग्ने चार प्रतियोगीहरू मार्टिनिककी अरेली योहाचिम, इथियोपियाकी हैसेट डेरेज, पोल्यान्डकी माया क्लाज्डा र थाइल्यान्डकी ओपाल सुचाता थिए । मिस वल्र्डको समापन समारोहमा बलिउडका प्रसिद्ध कलाकार सोनु सुदलाई मिस वल्र्ड ह्युमेनिटेरियन अवार्डले सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्