
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा हङ्कङबाट स्वदेश फर्किएका छन् । चीन सरकारले यही जेठ १६ गते हकङमा आयोजना गरेको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर मन्त्री राणा गएराति स्वदेश फर्किएका हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा समारोहमा सहभागी हुन मन्त्री राणा गत बुधबार हङकङ गएका थिए । अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यवेक्षकका रुपमा सहभागी भएको हो ।
उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठन सहभागी भएका थिए । उक्त संगठनले विभिन्न देशबीच, एक देश र अर्काे देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।














