काठमाडौं । अमेरिकाले प्रस्तुत गरेको युद्धविराम प्रस्तावप्रति हमासले आफ्नो प्रतिक्रिया दिएको छ । हमासले १० जीवित इजरायली बन्धक र १८ मृतकको शव हस्तान्तरण गर्न तयार रहेको भन्दै बदलामा इजरायलले केही प्यालेस्टिनी कैदी रिहा गर्नुपर्ने लगायतका विभिन्न सर्त राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

साथै, हमासले आफ्ना पुराना माग पनि दोहो¥याएको छ । स्थायी युद्धविराम, गाजाबाट सबै इजरायली सेना फिर्ता र निरन्तर मानवीय सहायताको ग्यारेन्टी हुनुपर्ने हमासको सर्त रहेको छ । जुन माग अमेरिकाले तयार पारेको नयाँ युद्धविराम प्रस्तावमा छैन ।
इजरायलले भने अमेरिकाले गरेको युद्धविराम प्रस्ताव स्वीकार गरिसकेको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमासले आफ्ना माग समेटिनुपर्ने प्रतिक्रिया अमेरिकासमक्ष पठाएको हो । जुन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकफले प्रस्तुत गरेका थिए ।
रोयटर्सका अनुसार विटकफले विज्ञप्तिमा भनेका छन्, ‘मलाई अमेरिकी प्रस्तावप्रति हमासको प्रतिक्रिया प्राप्त भएको छ । यो पूर्णतया अस्वीकार्य छ र शान्ति प्रक्रियालाई पछाडि लैजान्छ । हमासले हाम्रो प्रस्तावलाई वार्ताको आधारशिलाका रूपमा स्वीकार गर्नुपर्छ, ताकि हामी अर्को हप्ता वार्ता सुरु गर्न सकौँ। यो नै चाँडै ६० दिने युद्धविराम लागू गर्ने एक मात्र तरिका हो ।’
यसैबीच इजरायलका प्रधानमन्त्री नेतन्याहुको कार्यालयले अमेरिकी प्रस्तावका विषयमा विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा ‘इजरायलले आफ्ना बन्धक रिहाइका लागि विटकफको प्रस्ताव स्वीकार गरे पनि हमास अझै आफ्नो जिद्दीमा अडिग छ’ भनिएको छ । अमेरिका, बेलायत र युरोपेली संघले हमासलाई आतंकवादी संगठन घोषणा गरेका छन् ।
यद्दपि, हमासले गाजामा स्थायी युद्धविराम नभएसम्म र सबै इजरायली सेना फिर्ता नभएसम्म आफू पछि नहट्ने अडान लिएको छ । रोयटर्सका अनुसार गाजामा मानवीय सहायताका लागि गएका ट्रकहरू हमासकै लडाकू समूहले बन्दुक देखाएर अपहरण गर्ने र केही ट्रकहरू गाजामै भोकले पिरोलिएकाहरूबाट लुटिएका छन् ।
‘८० दिनदेखिको नाकाबन्दीका कारण भोकमरी लागेको छ । यस्तो अवस्थामा आफ्नै अगाडिबाट खाद्यान्न गइरहेको कसरी हेर्न सक्छन्,’ गाजामा मानवीय सहायता पु¥याइरहेको विश्व खाद्य कार्यक्रमले विज्ञप्तीमा उल्लेख गरेको छ ।










