
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घले तोकिएको मूल्यमा चैते धान खरिद नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
समर्थन मूल्य निर्धारण गरेर सरकारले किसानलाई बारम्बार झुक्याएको भन्दै महासंघले यो विषयमा गम्भीर रूपले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समाधान नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
महासङ्घका अध्यक्ष डा.प्रेम दंगालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकेपनि हाल बजार मूल्य औसतमा प्रतिक्विन्टल १६२५ रुपैयाँ मात्र रहेको जनाएको छ ।
यो मूल्यमा समेत धान बिक्री नभई कुहिने अवस्थामा पुगिसकेकाले किसानहरु हतोत्साहित भएको अध्यक्ष दंगालको भनाई छ । ‘सरकारले समर्थन मूल्य त घोषणा गर्छ, तर सो मूल्यमा धान खरिद गर्ने व्यवस्था नगरेर किसानलाई बारम्बार झुक्याउने र हतोत्साहित बनाउने प्रवृत्ति दोहो¥याइरहेको छ,’ किसान महाासंघले भनेको छ ।
साथै महासङ्घले प्रत्येक वडामा धान सुकाउने ड्रायर मेसिनसहितको भण्डारण गोदामको तत्काल व्यवस्था गर्न पनि माग गरेको छ । ‘धान भण्डारण गर्ने क्षमता किसानसँग छैन । वर्षायामको सुरुवातसँगै धान सुकाउनसमेत समस्या हुने भएकाले सरकार अझ बढी जिम्मेवार हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घले उत्पादित सम्पूर्ण चैते धान तोकिएको मूल्यमा खरिद गर्न सरकारसँग जोडदार माग गर्दै तत्काल खरिद प्रक्रिया सुरु नगरे वा कम मूल्यमा बिक्री गरिएका धानको मूल्य फरक बराबरको सोधभर्ना नदिए किसानहरू ‘कडा कदम’ चाल्न बाध्य हुने चेतावनी दिएको छ ।














