काठमाडौं । नेपाली क्रिकेट टोली सात महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा फर्किँदै छ । विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा नेपालले सोमवार स्कटल्याण्डविरुद्ध मैदान उत्रनेछ । यो त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स पनि सहभागी छ ।

नेपालले पछिल्लो ओडीआई खेल २१० दिनअघि सन् २०२४ को नोभेम्बर ४ मा अमेरिकामा स्कटल्याण्डविरुद्ध नै खेलेको थियो । उक्त खेल वर्षाका कारण रद्द भएको थियो । सोमवारको खेल नेपालको ७४औं ओडीआई खेल हुनेछ ।
स्टुआर्ट लको प्रशिक्षणमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल
नव नियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । ल नेपालको प्रशिक्षक हुनुअघि अमेरिकाको मुख्य प्रशिक्षक थिए, जहाँ उनले अमेरिकी टोलीलाई टी-ट्वान्टी विश्वकपको सुपर ८ मा पुर्याएका थिए । यसअघि हङकङ सिरिजमा नेपालले सहभागिता जनाए पनि त्यतिबेला ज्ञानेन्द्र मल्लले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
नेपाल र स्कटल्याण्ड : हेड-टु-हेड
नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ ओडीआई खेल भएका छन्, जसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेल जित्दा स्कटल्याण्डले ३ खेल जितेको छ । एक खेल वर्षाका कारण रद्द भएको थियो ।
लिग टुको तयारीस्वरूप नेपालले स्कटल्याण्ड ‘ए’ सँग दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण नतिजाविहीन रह्यो । यस्तै, संयुक्त अधिराज्य ९युके० मा भएको तयारीका क्रममा नेपालले स्थानीय टोलीविरुद्ध ५ अभ्यास खेलमा शतप्रतिशत जित हासिल गरेको थियो ।
विश्वकप लिग टु : नेपालको चुनौती
विश्वकप लिग टु सन् २०२७ को ओडीआई विश्वकप छनोटको महत्त्वपूर्ण सिरिज हो । ८ टोली सहभागी यो लिगमा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछन । पुछारका ४ टोलीले छनोट प्लेअफ खेल्नुपर्नेछ ।
हाल नेपाल १२ खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ । स्कटल्याण्ड १६ खेलमा २० अङ्कसहित चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छन् ।
चौथो राउण्डमा नेपालको खेल तालिका यस्तो छस्
जेठ १९ (जुन २) : स्कटल्याण्डविरुद्ध
जेठ २१ (जुन ४): नेदरल्याण्ड्सविरुद्ध
जेठ २५ (जुन ८) : स्कटल्याण्डविरुद्ध
जेठ २७ (जुन १०): नेदरल्याण्ड्सविरुद्ध
लिग टुको खेलपछि असार १ (जुन १५) देखि नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी-ट्वान्टी सिरिज हुनेछ ।
नेपाली टोली
नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन्, भने दीपेन्द्र सिंह ऐरी उपकप्तान छन्। टोलीमा आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी छन्। नेपाली टोलीले यो सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्य राखेको छ।














