
काठमाडौं । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई प्रहरीले बालुवाटारको निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको आरोपमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नारायणचौरबाट प्रदर्शनमा निस्किएको राजावादी समूहले बालुवाटारमा प्रहरीले राखेको बार तोड्ने प्रयास गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइएको छ । राजसंस्था पुनःस्थापना र हिन्दु राज्यको माग राख्दै राप्रपा, नेपालले गत १५ जेठदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएको छ । आज नारायणचौरबाट सुरु भएको प्रदर्शन बालुवाटारतर्फ अघि बढ्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । प्रहरीका अनुसार, प्रदर्शनकारीहरू उग्र रूपमा निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि लाठीचार्ज गर्नुपरेको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रधानमन्त्री, सभामुखलगायत उच्च पदाधिकारीको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको छ । प्रहरीले उक्त क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाएको छ ।














