काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वातावरण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सबै राजनीतिक दललाई साझा मञ्चमा ल्याएर संवाद र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले सानेपामा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताए ।

“ठूलो दलको हैसियतले कांग्रेस जलवायु परिवर्तनमा साझा धारणा बनाउन नेतृत्व लिन तयार छ,” देउवाले भने । उनले जलवायु सङ्कट समाधानका लागि नेपालले सामुदायिक वन, नवीकरणीय ऊर्जा, र विद्युतीय सवारीमार्फत योगदान दिँदै समाधानकर्ता देशको छवि बनाएको उल्लेख गरे ।
सन् २०२४ सबैभन्दा तातो वर्ष बनेको भन्दै उनले कार्बन उत्सर्जनमा तीव्र कटौती आवश्यक रहेको बताए । नेपालले सन् १९९२ को युएनएफसीसीसीदेखि सन् २०१५ को पेरिस सम्झौता र सन् २०४५ मा शून्य कार्बन उत्सर्जनको लक्ष्यसम्म जलवायु परिवर्तनविरुद्ध प्रतिबद्धता जनाउँदै आएको उनको भनाइ छ ।
देउवाले जलवायु परिवर्तनले कृषि, पर्यटन, र जलविद्युत जस्ता क्षेत्रमा गम्भीर असर पारेको र यसले आर्थिक जोखिम बढाएको बताए । स्वच्छ विद्युतको प्रयोग बढाएर पेट्रोलियम आयात घटाउन सके वातावरण संरक्षणसँगै व्यापार घाटा कम हुने उनले जोड दिए ।














