काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब रकेटको गतिमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मधेस प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक (दोस्रो चरण)’ योजनाअन्तर्गत ६४ वटा निर्वाचन क्षेत्रमा ३२० किलोमिटर सडकको डिजिटल शिलान्यास गर्दै उनले मधेसमा विकासको लहर आउने दाबी गरे ।

“मैले आज शिलान्यास गरेको सडक निर्माण सबैको सहकार्यमा गुणस्तरीय र सफल हुने विश्वास छ । यो परियोजनाले मधेसको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,” प्रधानमन्त्री ओलीले भने । “मधेस जागरूक र ऐतिहासिक प्रदेश हो । यो राम, जानकी र परशुरामको पवित्र भूमि हो, जहाँ प्रसिद्ध तीर्थस्थलहरू छन् । ऐतिहासिक कारणले यहाँको विकास केही समय पछाडि परे पनि अब तीव्र गतिमा अगाडि बढ्नेछ ।”
प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन पहिलो सर्त भएको बताए । “सुशासन अरूको मुख ताकेर होइन, आफैँबाट सुरु गर्नुपर्छ,” उनले भने । “मधेस ज्ञान, साहित्य र प्राचीन संस्कृतिको केन्द्र हो । यहाँ कवि, विद्वान र चिन्तकहरू जन्मिएका छन् । कृत्रिम कारणले हामी पछाडि पर्यौँ, तर अब पछाडि पर्ने दिन गए । हामी द्रुत गतिमा अगाडि बढ्नेछौँ ।”
उनले मधेसमा हालैका वर्षहरूमा उल्लेख्य विकास भएको उल्लेख गरे । “दश हजारभन्दा बढी गरिब परिवारलाई आवास प्रदान गरिएको छ । आकस्मिक समस्याहरूको समाधान गरिएको छ । सडकहरू चौडा हुँदै छन् । जनकपुरमा रेल सञ्चालनमा आएको छ, जसलाई बर्दिबाससम्म विस्तार गर्ने र रेलको सङ्ख्या थप्ने योजना छ । रेल घाटामा नजाओस् भनेर कर्मचारीलाई तालिमको व्यवस्था तत्काल सुरु गरिनेछ,” उनले भने ।














