
काठमाडौं । काठमाडौंमा जेठ १५ गते गणतन्त्र दिवसदेखि सुरु भएको राजावादीहरूको आन्दोलन तेस्रो दिनमा थप उग्र बनेको छ । राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, शिवसेना नेपाललगायतका सङ्गठनहरूले संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा प्रदर्शन तीव्र पारेका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास शीतल निवासलाई निशाना बनाएर गरिएको प्रदर्शनले तनावपूर्ण वातावरण सिर्जना गर्यो । निषेधित क्षेत्र तोड्ने प्रयास र प्रहरीमाथि ढुंगामुढा प्रहारको आरोपमा सात जना पक्राउ परे, जसमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंह पनि छन् ।
आइतबार नारायणचौरमा भएको प्रदर्शनका क्रममा दीपक सिंहलाई काठमाडौं प्रहरी परिसरबाटै पक्राउ गरियो । कमल थापालाई भेट्न पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘सङ्घीयता खारेज गर’ र ‘हिन्दुराष्ट्र कायम गर’ नारा लगाए । नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्ने योजना भए पनि जिल्ला प्रशासनले दरबारमार्गलाई निषेधित क्षेत्र घोषणा गरेपछि आन्दोलनकारीहरू शान्तिबाटिकाबाट रत्नपार्क, कमलादी हुँदै बालुवाटार पुगे ।
राजावादीले के भने :
झडपमा पाँच प्रदर्शनकारी र दुई प्रहरी घाइते भएका छन् । प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रयोग गरेपछि राप्रपाले सरकारमाथि शान्तिपूर्ण आन्दोलन दबाउन अनावश्यक बल प्रयोग गरेको आरोप लगाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई ससम्मान रिहा नगरे काठमाडौं उपत्यका ठप्प पार्ने चेतावनी दिए । उनले भने, “हामी देशभरबाट साथीहरू बोलाउँछौँ, भोलिबाट ५० ठाउँबाट आन्दोलन सुरु हुन्छ ।” यो चेतावनीले आन्दोलन थप चर्किने सङ्केत गरेको छ । थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका छन् ।
राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । आन्दोलनको क्रममा आफ्ना सांसद दिपक सिंह, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत पक्राउ परेपछि अबको आन्दोलन कस्तो हुने भन्ने निर्णय तथा आन्दोलनको योजनाको विषयमा छलफल हुने ठानिएको छ ।
ओली र प्रचण्डले के भने :
प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी प्रदर्शनलाई ‘स्वार्थप्रेरित’ भन्दै संविधान र लोकतन्त्रविरुद्धको कदमलाई शान्तिपूर्ण र संवैधानिक बाटोबाट मात्र समाधान गर्न सकिने बताए । उनले राजावादीहरूलाई संविधानभित्र दुई तिहाइ बहुमतबाट समाधान खोज्न चुनौती दिँदै असंवैधानिक बाटो रोजे क्रान्तिको जवाफ दिने चेतावनी दिए । उनले आन्दोलनलाई काठमाडौंको चक्रपथभित्र प्रवेश रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूलाई ‘भाडाका मानिस’ प्रयोग गरेर उत्तेजक र अराजक गतिविधि गरेको आरोप लगाएका छन् । वाईसीएल नेपालको सम्मेलनमा बोल्दै उनले राजावादीहरूले पैसाको बलमा मानिसलाई जाँड खुवाएर उक्साउने र आक्रमणको प्रयास गरेको दाबी गरे । उनले आक्रमण नगर्ने, तर आक्रमण भए जवाफ दिन तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।














