काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने अडान कायम राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा माओवादी केन्द्रले आफ्नो अडान दोहोर्याएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

“बैठकमा छलफल मात्र भयो। सत्तापक्ष र प्रधानमन्त्रीले संसद् खोल्नुपर्छ भन्नुभयो। गृहमन्त्री लेखकले पनि राजीनामाको सट्टा संसद् सञ्चालन गर्नुपर्ने कुरा राख्नुभयो,” पाण्डेले भने, “हामीले सुशासनलाई प्राथमिकता दिँदै गृहमन्त्रीको राजीनामा माग गरेका छौँ। हाम्रो अडान यथावत् छ ।”
उनले भिजिट भिसा प्रकरणमा भएको अनियमितताको छानबिन आवश्यक रहेको र यो विषय संसद्मा औपचारिक रूपमा उठाइसकिएको बताए । “भिजिट भिसामा गडबडी भएको विषय हामीले बैठकमा पनि राख्यौँ। यसको अनुसन्धानका लागि गृहमन्त्रीले बाटो खुला गर्नुपर्छ, जसको अर्थ राजीनामा नै हो,” उनले भने । “सत्तापक्षले यो कर्मचारीको मात्र विषय हो, गृहमन्त्रीले राजीनामा दिनु नपर्ने तर्क राख्नुभयो ।”














