काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारी सम्बन्धी छलफल सम्पन्न भएको छ ।

कार्यक्रममा गृहमन्त्री लेखकले मनसुनको समय नजिकिँदै गरेकोले सबै सुरक्षा निकायलाई विपद् उद्धारका लागि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिए । उनले विपद्का बेला तीव्र सूचना आदानप्रदान र उद्धार टोली परिचालनका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वयमा काम गर्नुपर्नेमा जोड दिए । “पूर्व सूचनाका आधारमा जोखिमयुक्त स्थानहरू पहिचान गरी उद्धारका लागि तयारी अवस्थामा रहनुपर्छ,” उनले भने । “विगतका घटनाबाट पाठ सिकेर योजना बनाउन र यस वर्षको सम्भावित भारी वर्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलका सबै युनिटमा जनशक्ति र सामग्री तयारी अवस्थामा राख्नुपर्छ ।”
गृहमन्त्री लेखकले उपलब्ध स्रोतसाधनको सही परिचालनमार्फत जोखिम न्यूनीकरण र नागरिकको जीउधनको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए । उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी नागरिकको गुनासो नआउने गरी प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए ।
निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्का बेला सबै निकायसँग समन्वय र सहकार्यको महत्त्व उल्लेख गर्दै सशस्त्र प्रहरी बलको भूमिका महत्त्वपूर्ण हुने बताए ।
निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बलले विगतको अनुभवलाई आधार मानेर मनसुन प्रतिकार्य योजना, २०८२ तयार गरेको जानकारी दिए । उनले ८ वटा बाहिनी मुख्यालय, २ तालिम शिक्षालय, १ गण, ९ वटा बेस र २ रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामग्रीसहित जनशक्ति तैनाथ गरिएको बताए ।
“सशस्त्र प्रहरी बलका २,४८१ जना विपद् व्यवस्थापन तालिम प्राप्त र १२८ जना गोताखोर जनशक्तिलाई विशिष्टिकृत उद्धार सामग्रीसहित सातै प्रदेशमा परिचालन गरिएको छ,” पौडेलले भने । “हाल ९ वटा विपद् व्यवस्थापन बेस स्थापना भएका छन्, र आगामी मनसुनका लागि थप ३५ स्थानमा अस्थायी बेस स्थापना गर्ने लक्ष्य छ ।”
कार्यक्रममा सशस्त्र प्रहरी बलका सबै बाहिनी मुख्यालयले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीबारे जानकारी गराएका थिए । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दीगविजयी सुवेदीले विपद्का बेला सशस्त्र प्रहरीको भूमिका, क्षमता र प्रतिकार्य योजनाबारे प्रस्तुति दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गृहमन्त्रालयका सहसचिवहरू रामचन्द्र तिवारी र डा. टोकराज पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनी श्रेष्ठलगायत गृहमन्त्रालय र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको उपस्थिति थियो ।














