Logo
Logo

स्कटल्यान्डद्धारा नेपाललाई २९७ रनको लक्ष्य


756
Shares

काठमाडौं। अङ्क तालिकामा कमजोर बन्दै गएको नेपाललाई आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डले सोमबार २९७ रनको विशाल लक्ष्य दिएको छ।

पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको हो ।

स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे । नेपालका तीव्र गतिका बलर करण केसी ८० रनमा खेलि रहेका उनलाई विकेट किपर आसिफ शेखबाट क्याच आउट गराएका हुन् ।

फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रनमा आउट भए । उनी ५०औँ ओभरमा सोमपाल कामीको बलमा आउट भए ।

कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । कप्तान बेरिङ्टन करणकै बलमा विकेट किपर आसिफबाट समातिए ।

म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रनमा आउट भए । क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोड्दै आउट भए । लिस्क रिजन ढकालको बलमा भीम सार्कीबाट क्याच आउट भए ।

ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ३१ बलमा १९ रनमा खेलिरहेका मक्कमुलनलाई बासिर अहमदबाट क्याच गराएका थिए ।

नेपालले पहिलो विकेटका रुपमा स्कटल्याण्डले ओपनर जर्ज मुन्सीलाई आउट गराएका थिए । मुन्सी रिजन ढकालको बलमा १२ रनमा आउट भएका थिए । मुन्सी लामो सटको प्रयासमा सोमपाल कामीबाट समातिएका थिए ।

नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १२ खेलमा ६ अङ्कका साथ लिग तालिकाको पुछारमा छ । स्कटल्याण्ड सिरिजमा घरेलु टोली र नेपाल सहित नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ । स्कटल्याण्ड १६ खेलमा २० अङ्कका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्