
काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन् ।
गत असोजमा रोशी खोलामा आएको बाढीले बगाएको फलामको पक्की पुल र झोलुङ्गे पुलको सामान व्यक्तिगत रुपमा कबाडीलाई बिक्री गरेको आरोपमा प्रहरीले सोमबार उनलाई काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले वडा अध्यक्ष गौतमलाई पक्राउ गरिएको र आज अदालतबाट म्याद थप गराएर अनुसन्धान गर्ने तयारी गरिएको जानकारी दिए ।
कटुन्जेबेशीबाट रघुचौर हुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल सम्बन्धित पक्षसँग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्री वितरण गरेको स्थानीयको आरोप छ ।
वडा अध्यक्षको निर्देशनमा खोलामा रहेको पुल काटेर कबाडीले ट्रकमा लोड गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोही सूचनाका आधारमा प्रहरीले जेठ १२ गते राति पुल लोड भएका दुई वटा ट्रकसहित कवाडी व्यवसायी मुन्दुकुमार, जितेन्द्र पासवान र टिपर चालक ४७ वर्षीय मानबहादुर तामाङ र ४० वर्षीय रमेश लामालाई पक्राउ गरेको छ ।














