काठमाडौं । कालिकोट जिल्लाको सदरमुकामस्थित खाँडाचक्र नगरपालिका–३ मा रहेको ताडी आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । उक्त स्वास्थ्य केन्द्र विगत दुई सातादेखि कर्मचारीविहीन अवस्थामा छ ।

सोमबार खोकी र टाउको दुखाइका बिरामी औषधि लिन पुग्दा कार्यालय सहयोगीले आइरन चक्की मात्र वितरण गरेको भन्दै स्थानीयले आक्रोशित हुँदै तालाबन्दी गरेका हुन् । कर्मचारीहरू समयमा उपस्थित नहुने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधि समेत बिरामीलाई नदिने र पावर तथा पहुँच देखाएर बिरामीलाई पटक–पटक धम्काउने गरेको स्थानीयको आरोप छ ।
स्थानीय खगेन्द्र प्रसाद पाण्डेले भने, “सरकारले निःशुल्क दिने भनिएको औषधि पनि पाइँदैन, बरु धम्की खानुपर्छ ।” यसले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड भएको स्थानीयको गुनासो छ ।














