काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेका छन् । १२ जेठदेखि संसद् अवरुद्ध गर्दै आएका विपक्षीले मंगलबारको प्रतिनिधिसभा बैठक चल्न दिने निर्णय गरेका छन् । उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकार तयार हुनुपर्ने सर्त राखेका छन् ।

गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । उनले सदनमार्फत आफ्नो धारणा राख्न सभामुखसँग पटक–पटक समय मागे पनि विपक्षीले अवरोध गर्दै आएका थिए । मङ्गलवार भने विपक्षी दलहरूले सरकारले छानबिनमा सहमति जनाएमा गृहमन्त्रीलाई बोल्न दिने जनाएका छन् ।
यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल छानबिन गरिरहेको छ । १५ जेठमा बजेट प्रस्तुत भइसके पनि संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ। यसलाई समाधान गर्न सभामुख देवराज घिमिरेले मङ्गलवार बिहान प्रमुख दलहरूको संयुक्त बैठक बोलाएका थिए। यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको बैठकमा पनि सत्तापक्षले संसद्को गतिरोध हटाउन आग्रह गरेको थियो ।