Logo
Logo

“हामी जन्मेकै च्याम्पियन बन्न हो”


378
Shares

काठमाडौं ।  २१औं एकेएफ एसियन कराते च्याम्पियन खेल्न नेपालबाट उज्वेकिस्तान उडेकी एरिका गुरुङ मङ्गलवार कराते वान प्रिमियर लिगको कांस्य पदक गलामा झुण्डाउँदै स्वदेश आइपुगेकी छन् । “हामी जन्मेकै च्याम्पियन बन्न हो, डराएर हैन, खेलेरै देखाउँछु!” मोरोक्कोको राबातमा कराते रिङमा उत्रिँदा एरिका गुरुङले बोकेको यो आत्मविश्वासले नेपाललाई ऐतिहासिक सफलता दिलाएको छ । कराते वान प्रिमियर लिगको महिला ६८ केजीमाथिको तौल समूहमा फ्रान्सकी क्लेमेन्स पिएलाई ६–२ ले हराउँदै एरिकाले कांस्य पदक जितेकी छन् । यो जितसँगै उनले नेपाली करातेको गर्विलो इतिहासमा नयाँ अध्याय थपेकी छन् ।

“यो ठूलो उपलब्धि हो, तर म यसलाई सुरुवातको रूपमा हेर्छु,” ऐतिहासिक जितपछि उत्साहित एरिकाले भनिन् । उनले मोरोक्को पुग्दा आयोजकको मुखबाट पहिलो पटक ‘नेपाल’ शब्द सुन्दा आफूलाई अविस्मरणीय अनुभूति भएको बताइन् । “मेडल सेरेमनीमा आयोजकले ‘नेपाल पहिलो पटक आएर पदक जित्यो’ भनेर सम्बोधन गर्दा गर्वले छाती ढक्क भयो,” उनले  भनिन् ।

यो पदक एरिकाको व्यक्तिगत विजय मात्र होइन, विश्वका शीर्ष ३२ खेलाडीले मात्र सहभागिता जनाउन पाउने यो प्रतिष्ठित लिगमा नेपालको पहिलो सहभागिता र सफलताको प्रतीक हो । टर्की र इटलीका खेलाडीलाई पाखा लगाउँदै सेमिफाइनलसम्म पुगेकी एरिका स्पेनकी विश्व च्याम्पियन मारिया टोरेस गार्सियासँग ५–५ को बराबरीमा ‘सेन्सु’ आधारमा पराजित भएकी थिइन् ।

प्रशिक्षकबिना रिङमा उत्रिनु सामान्यतः कमजोरी मानिन्छ, तर एरिकाले त्यसलाई अवसर बनाइन् । “मैले गुरु नभएको म्याचमा पनि कमजोर महसुस गरिनँ । प्रत्येक खेलपछि गुरुलाई फोन गरेर गल्ती सुधार्थेँ र अर्को म्याचमा उत्कृष्ट प्रदर्शन गर्थेँ,” उनले भनिन् । विश्व च्याम्पियनसँगको भिडन्तलाई उनले ‘सम्मानको अवसर’ ठानिन् । “टेक्निकल रूपमा उनी मभन्दा अगाडि थिइन्, तर यो अनुभवले मलाई झन् बलियो बनाएको छ। अर्को पटक म तयार छु,” उनले भनिन् । 

एरिकाको यो सफलताले नेपाली खेलाडीहरू विश्वस्तरमा अब्बल रहेको प्रमाणित गरेको छ। “हाम्रो प्रशिक्षण र खेल अन्य देशको तुलनामा कम छैन, तर धैर्यपूर्वक खेल्ने बानीको कमी छ,” उनले भनिन् । उनले आफ्नो सफलताको श्रेय प्रशिक्षक कुशल श्रेष्ठलाई दिएकी छन्, जसले १९औं एसियाली खेलकुदमा पनि उनलाई ऐतिहासिक पदक दिलाउन मार्गदर्शन गरेका थिए ।
 
“यो लिगमा पुग्न गुरुले कति रात नसुतेर तयारी गर्नुभयो होला । मैले अझै धन्यवाद भन्न बाँकी छ । मलाई विश्वास छ, अझ राम्रा दिन आउँदै छन्, र त्यो दिन गुरुलाई धन्यवाद दिनेछु,” उनले भावुक हुँदै भनिन् ।

प्रतिक्रिया दिनुहोस्