काठमाडौं । सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली तत्काल स्थगन गर्न पत्राचार गरेको छ । सार्वजनिक यातायात व्यवसायीहरूको विरोध र हड्तालका कारण जनजीवन प्रभावित भएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो निर्णय गरेको हो ।

मङ्गलवार साँझ ५:१५ बजे गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा पुगेको उक्त पत्रमा राइड सेयरिङसम्बन्धी प्रावधान हाललाई कार्यान्वयन नगर्न अनुरोध गरिएको छ।
गण्डकी प्रदेशले राइड सेयरिङसम्बन्धी नियमावली लागू गर्ने तयारी गरेपछि यातायात व्यवसायीहरू आन्दोलित बनेका थिए । उनीहरूले देशभर सार्वजनिक यातायात ठप्प पारेका छन्, जसका कारण काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा दुई दिनदेखि यातायात सेवा प्रभावित भएको छ ।
यसैबीच, सङ्घीय सरकारले व्यवसायीहरूसँग वार्ता गरेको थियो । सोमबार गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि नियमावली स्थगन गर्न पत्र पठाउने सहमति भएको हो ।
पत्रमा भनिएको छ, “सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवन सामान्य बनाउन राइड सेयरिङसम्बन्धी नियमावलीको कार्यान्वयन हाललाई स्थगित गर्न मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध गरिएको छ ।” गण्डकी प्रदेश सरकारले यो पत्रको जवाफ र आगामी कदमबारे छलफल गरिरहेको बताइएको छ ।














