काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण, लगानी अभिवृद्धि र आपसी सहकार्यका लागि मङ्गलवार छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोले व्यापार साझेदारी, जलवायु परिवर्तन, पर्यटन र लगानीका अवसरबारे छलफल गरेका छन् ।

अध्यक्ष अग्रवालले नेपाल र जिम्बावेबीच ४ दशक लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै असंलग्न नीति र जलवायु परिवर्तनजस्ता विषयमा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य भइरहेको बताए । उनले अब आर्थिक क्षेत्रमा पनि सहकार्यलाई जोड दिनुपर्नेमा जोड दिए । साथै, उनले दुवै देशमा आवासीय दूतावास स्थापना गरी व्यापार, पर्यटन र जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्न राजदूत न्होकोमोसँग प्रस्ताव गरे ।
“दुवै देशको निजी क्षेत्रबीच बी-टु-बी भेटघाट र द्विपक्षीय सहमतिमार्फत आर्थिक लाभ लिनुपर्छ,” अग्रवालले भने । उनले नेपालमा लगानीको वातावरण सहज रहेको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाबाट नेपालले दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा ‘बीबी माइनस’ क्रेडिट रेटिङ प्राप्त गरेकोमा जोड दिए । उनले जलविद्युत, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि जिम्बावेका लगानीकर्तालाई आकर्षित गर्न राजदूतलाई आग्रह गरे । आगामी वर्षको बजेटमा वैदेशिक लगानीलाई सहज बनाउने व्यवस्था भएको उनको भनाइ छ ।
जवाफमा, राजदूत न्होकोमोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै सगरमाथा र नेपालको प्राकृतिक सुन्दरताले आफूलाई आकर्षित गरेको बताइन् । उनले जिम्बावेका निजी क्षेत्रसँग सहकार्य गरी यी क्षेत्रमा लगानीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।














