काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’लाई एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र र यातायात व्यवसायीहरूको विरोधका बीच मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरी यो निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले गत चैत ३१ गते मन्त्रिपरिषद् बैठकबाट पारित गरेको उक्त नियमावलीले निजी सवारी साधन ९रातो नम्बर प्लेट० लाई यात्रु बोक्ने अनुमति दिएको थियो, जसको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको नेतृत्वमा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात ठप्प पारेका थिए ।
सोमबार मध्यरातसम्म सङ्घीय सरकार र यातायात व्यवसायीहरूबिच भएको छलफलमा नियमावली स्थगन गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएको थियो । सङ्घीय सरकारले मङ्गलवार उक्त पत्र पठाएपछि गण्डकी सरकारले नियमावली एक महिनाका लागि स्थगित गर्ने र यातायात व्यवसायीहरूसँग थप वार्ता गर्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नियमावली स्थगनको घोषणा नभएसम्म आन्दोलन जारी रहने बताएका थिए। यद्यपि, गण्डकी सरकारको पछिल्लो निर्णयपछि यातायात व्यवसायीहरूले आन्दोलन फिर्ता लिने सम्भावना रहेको छ ।