धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सांसद पदबाट स्वतः निलम्बन भएको पत्र प्रदेशसभा सचिवालयमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका सांसद सोडारीविरुद्ध एक करोड ८ लाखको बिगो मागदाबीसहित भ्रष्टाचार सम्बन्धी कसुरमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । यससँगै उनी प्रदेश सदस्य पदबाट स्वतः निलम्बनमा परेका छन् ।

एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेका सोडारीको सांसद पद निलम्बन भएको पत्र सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठकमा पढेर सुनाउनेछन् । त्यसपछि प्रदेशसभा सदस्यको हैसियतमा उनले कुनै काम गर्न पाउने छैनन् ।
प्रदेश सभाको बैठक अगामी २३ जेठमा बस्ने कार्यसूची रहेको छ । सभामुख भण्डारीले सोही बैठकमा सोडारी पदमुक्त भएको सूचना सुनाउने सभामुखको सचिवालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीले मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको हैसियतमा बहाल रहँदा पदीय मर्यादाविपरीतका कार्य गरेर अकुत सम्पत्ती आर्जन गरेको ठहर गर्दै विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको थियो ।
२०७४ सालदेखि सोडारीले आफ्नो र परिवारको कूल सम्पत्ति ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँ ९२ पैसा वैधानिक आर्जन देखाएका थिए । तर, पदवहालीपछि शक्तिको दुरुपयोग गरी १ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँ ५७ पैसा अकूत आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।














