काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट वाइसीएल नेपालको तेस्रो सम्मेलन काठमाडौंमा जारी छ । अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आज निर्वाचन हुने भएको छ ।

तेस्रो सम्मेलनबाट नयाँ नेतृत्व चयन गर्नका लागि पार्टी नेतृत्वमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको हो । त्यसका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
बुधवार साँझ नै निर्वाचनमा सहभागी हुने मतदाताको नामावली प्रकाशन भइसकेको छ । जसमा निर्वाचनमा सहभागी हुनका लागि १ हजार ५५२ जना प्रतिनिधि रहेका छन् । मतदाता नामावली सार्वजनिक गर्दै निर्वाचन समितिले नाम छुटेको, नाम र कोड नम्बर फरक परेमा समयमै सम्बन्धित प्रदेशको नेतृत्वमार्फत सच्याउन अनुरोध गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजे मतदाता नामावलीमाथि दाबी विरोध दर्ता, साढे १० बजेसम्म दाबी विरोधमाथि छानबिन र निर्णय र बिहान ११ बजे अन्तिम मतदाता नामावली प्रकाशन तथा उम्मेदवारी दरखास्त आव्हानको समय तोकिएको छ ।
यस्तै आजै मध्यान्ह १२ बजेदेखि १२ः ४० सम्ममा उम्मेदवारको मनोनयन दर्ता, १२ः४५ मा उम्मेदवारको नामावली प्रकाशन तथा दाबी विरोधको सूचना आव्हानको समय तोकिएको छ ।
यस्तै, उम्मेदवारको विरोधमा उजुरी दर्ता १२ः४५ देखि दिउसो १ बजेसम्म रहेको छ भने उम्मेदवारको विरोधमा परेको उजुरी सूचना १ः२० मा र उजुरीमाथि छानबिन र निर्णय १ः२० देखि २ बजेसम्म हुने कार्यतालिका रहेको छ । त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउसो २ बजेदेखि ३ः१५ सम्म तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउसो ३ः२० मा तोकिएको छ ।
दिउँसो ३ः२० बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा. जगतकृष्ण पोखरेलले बताएका छन् ।














