काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दालाई लिएर आफूलाई कुनै डर नलागेको बताएका छन् । बिहीबार साँझ रौतहटबाट काठमाडौं फर्किए लगत्तै पार्टीका नेता र वकिलहरूसँग परामर्शपछि सञ्चारकर्मीसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि जग्गा खरिद–बिक्री प्रकरणमा १८ करोड ५८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपालले यो मुद्दा राजनीतिक प्रतिशोधका लागि आएको दाबी गर्दै आफूले कुनै गल्ती नगरेको बताए । उनले भने, “मेरो सिद्धान्त छ– नबिराउनू, नडराउनू । मैले भ्रष्टाचार गरेको छैन, चुनौतीका साथ भन्छु ।” उनले यो मुद्दाविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताए ।














