विराटनगर । सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एकजनाको हत्या गरेको छ । एकजना घाइते भएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली प्रहारबाट हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार कान्तालालका भाइ रामाकान्त घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल लहानमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घटना गएरतिको हो । राति करिब एक बजेतिर ४–५ जनाको समूहमा रहेको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए ।
लुटपाटको प्रतिकार गर्दा घर धनी चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ । डाँका समूहले सो घरबाट पाँच तोला सुन, दुई केजी चाँदी र ५०÷६० हजार नगद समेत लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।