
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलीको जग्गामा आफुले कुनै बदमासी नगरेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले पतञ्जलीको जग्गामा आफुले कुनै अनुचित कार्य नगरेको बताएका हुन् ।
साथै स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तिहरु भएको ठाउँमा अनुचित कार्य होला भन्ने आफुले कल्पना पनि नगरेको उनको भनाई छ ।
‘मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन, कसैसँग अनुचित लाभ लिएको छैन । पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,’ उनले भनेका छन् ।
जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको हुनसक्ने उनको भनाई छ । नेपाली जनता स्वस्थ रहुन् भनेर त्यसबेला आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ ।
साथै उनले एमाले अध्यक्ष केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका छन् । ‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो,’ अध्यक्ष नेपालले भनेका छन्, ‘मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’











