काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज आइतबार निक्षेप सङ्कलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्दै भएको छ । बैङ्किङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न चालु आर्थिक वर्ष २०८१/८२ को शुरुदेखि नै राष्ट्र बैङ्कले निरन्तर तरलता झिक्दै आएको छ । हाल बैङ्किङ प्रणालीमा कुल निक्षेप ६९ खर्ब ४५ अर्ब नाघेको छ ।

राष्ट्र बैङ्कले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल प्रक्रियाबाट यो निक्षेप सङ्कलन गर्न लागेको हो । ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुनेछ । सङ्कलित निक्षेपको साँवा र ब्याज २०८२ साउन ४ गते भुक्तानी हुने राष्ट्र बैङ्कले जनाएको छ । बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलाइनेछ ।
यो प्रक्रियामा राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।














