Logo
Logo

आफ्नो ‘असफलता’ हेर्न रंगशाला पुगे प्रधानमन्त्री ओली


2k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली २०८१ असार ३१ गते चौथो पटक प्रधानमन्त्री बने । सोही दिन ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट गरिएको पहिलो निर्णय थियो– कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने ।

उक्त निर्णयपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखे, ‘पहिलो निर्णय– क्रिकेट रंगशाला !! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ । यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ ।’

त्यसको सात महिना अर्थात् लगभग २१० दिनपछि मात्रै त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटको काम थालियो । प्रधानमन्त्रीले घोषणा गरेको तीन सय दिनको म्याद बैशाख २४ गते सकियो । तर, तोकिएकै समयमा निर्माण सम्पन्न भएन । प्रधानमन्त्री ओलीले उद्घोष गरेको तीन सय दिन बितिसक्दा पनि रंगशाला निर्माण नहुनु उनका लागि ‘असफलता’को रूपमा टिप्पणी गरिँदै आएको छ।

शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, सानोगौचरणमार्फत प्याराफिट र फ्लडलाइट जडानका लागि गत फागुनमा ठेक्का सम्झौता भएको थियो ।

प्याराफिट निर्माणका लागि रु ४९ करोड २५ लाख ६७ हजार ३०२ र फ्लडलाइट जडानका लागि रु ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो । तर, विभिन्न प्राविधिक र प्रशासनिक अवरोधका कारण कामले गति लिन सकेन ।

प्रधानमन्त्री ओलीले बैशाख २२ गते निर्माणमा भएको ढिलाइबारे सम्बन्धित पक्षसँग स्पष्टीकरण मागेको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

उनले भने, ‘त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख हटाउने कानुनी प्रक्रिया, डिजाइन परिवर्तन र वर्षाका कारण कालो माटो पन्छाउन समस्या भएकाले तीन सिफ्टमा काम गर्दा पनि समयसीमामा काम सकिएन ।’

उनले निर्माण व्यवसायीलाई थप दुई महिना असार मसान्त २०८२ भित्र काम सक्न निर्देशन दिँदै समयमा काम नसकिए सरकारले कडा कदम चाल्ने चेतावनी दिए । असारको अन्तिम सातासम्म कीर्तिपुरमा रंगशाला तयार हुनेमा ढुक्क भएको पनि बताए ।

आइतबार भने ओली आफ्नो ‘असफलता’ निरीक्षण गर्ने त्रिवि क्रिकेट रङ्गशाला पुगेका छन् । अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुगेका ओलीले फर्किने क्रममा रङ्गशालाको प्रगति अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि सहभागी थिए ।

हाल कीर्तिपुर रंगशालामा प्याराफिटको ढलान र प्लास्टरको काम तीव्र गतिमा भइरहेको छ भने फ्लडलाइटका लागि पोल स्थापना र विद्युतीय प्रणालीको प्रारम्भिक काम सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्