Logo
Logo

१५ दिनका लागि काठमाडौं उपत्यका ‘सट डाउन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दुई साताका लागि ‘सटडाउन’ हुने भएको छ । आउने आइतबारदेखि लागु हुनेगरी ‘सट डाउन’को गर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् । सो अवधिका मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुनेछ ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । बैठकले आइतबारदेखि लागू हुनेगरी १५ दिनको लागि ’सट डाउन’को निर्णय गरेको हो ।
सट डाउन अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने विशेष कामबाहेकका सेवा बन्द हुनेछ । जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जनाए ।
बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने र स्थानीय तहलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय समेत भएको उनले बताए ।
काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।
सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गरिएको दाहालले बताए । सरकारी कार्यालयबाट हुने अत्यावश्यकबाहेकका सेवा बन्द रहने छन् भने आंशिक कार्यालय खोलेर अत्यावश्यक सेवाहरु दिइने निर्णय भएको हो ।
बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ । तर, तत्काल लकडाउन गर्ने योजना भने नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्