काठमाडौं । डन्डीको फार्थहिल क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग टुको खेलमा स्कटल्याण्डले टस जितेर पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल बनाएको छ ।

स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय पारी खेल्दै ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए, तर उनी रनआउट भए । नेपालले ५.४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएर राम्रो सुरुवात गरे पनि बेरिङ्टन र चार्ली टेयरले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे। टेयरले ६५ बलमा ९ चौकासहित ६८ रन बनाए, जसलाई नेपालका स्पिनर ललित राजवंशीले आउट गरे ।
नेपालका लागि करण केसीले पहिलो विकेट लिँदै जर्ज मुन्सीलाई शून्यमा र ब्रेण्डन मकमलनलाई ५ रनमा पवेलियन फर्काए । दीपेन्द्र सिंह ऐरीले फिन्ले म्याकमुलन (१७) लाई उत्कृष्ट क्याचमार्फत आउट गरे । म्याथ्यु क्रस ३ रनमा आउट भए । तर, बेरिङ्टन र माइकल लिस्कले छैटौं विकेटका लागि १२५ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए । लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे ।
नेपालले डेथ ओभरमा १० ओभरमा १२३ रन खर्चेर १ विकेट लिए । करण र दीपेन्द्रले २-२ तथा ललितले १ विकेट लिए । गत सोमबार भएको खेलमा करण केसीको उत्कृष्ट प्रदर्शन र पहिलो ओडिआई अर्धशतकको मद्दतले नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको थियो । उक्त खेलमा नेपालले २९७ रनको लक्ष्य ४९.५ ओभरमा पूरा गरेको थियो ।
त्यस्तै, गत साता नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। यो सिरिजमा नेपाल र स्कटल्याण्डको यो तेस्रो खेल हो। स्कटल्याण्डले शुक्रबार नेदरल्यान्ड्सलाई हराएर लगातार दोस्रो जितको लक्ष्य राखेको छ। नेपालले चौथो र अन्तिम खेल मंगलबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग टुको अङ्क तालिकामा स्कटल्याण्ड १८ खेलमा २२ अङ्कसहित चौथो र नेपाल १४ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ । सन् २०२७ सम्म चल्ने लिगमा शीर्ष ४ टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछन्, भने पुछारका ४ टोलीले छनोट प्लेअफ खेल्नुपर्नेछ । आगामी १५ जुनदेखि नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टि-ट्वान्टी सिरिज सुरु हुनेछ ।