Logo
Logo

संक्रमित बढ्न थालेपछि अस्पतालमा शय्याको अभाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ साउन । उपत्यकामा दिनहुँ कोरोना संक्रमितको संख्या बढेपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा संक्रमितको भर्ना हुने संख्या बढिरहेको छ ।
बिहीबार मात्र उपत्यकामा ८७ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म उपत्यकामा करिब ७ सय जनामा संक्रमण देखिएको छ । अस्पतालमा क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि बिरामी राख्ने शय्याको समेत अभाव हुन थालेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५० शय्यामध्ये ४९ श्ययामा बिरामी राखेर उपचार भइरहेको छ । यस्तै पाटन अस्पतालमा कोभिड–१९ का लागि छुट्ट्याइएका ६० शय्या भरिएर थप १२ शय्या पनि संक्रमितलाई राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिए । पाटनमा भर्ना गरिएका संक्रमित प्रायः लक्षण भएका छन् । तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखी उपचार गरिरहेको उनले जानकारी दिए ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि शय्या अभाव हुन थालेको छ । कूल ५० शय्यामा एउटा मात्र खाली रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए । अस्पतालमा सघन उपचार कक्ष (आइसियु) २० वटामध्ये १५ वटामा संक्रमितको उपचार भइरहेको छ । यस्तै नौ भेन्टिलेटरमध्ये दुई भेन्टिलेटरमा गम्भीर अवस्थाका बिरामीको उपचार भइरहेको छ ।
अस्पतालका निर्देशक डा राजभण्डारीले संक्र्रमित बढ्न थालेपछि अब लक्षण भएका संक्रमितलाई मात्र भर्ना गरेर उपचार गरिने बताए । ‘उपत्यकामा संक्रमित दैनिक बढिरहेका छन् । ती सबै संक्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गर्न सम्भव छैन’, उनले भने, ‘अब लक्षण देखिएका बिरामीलाई मात्र भर्ना गरेर उपचार गर्ने हो ।’ उनले लक्षण नभएका संक्रमितलाई घरमै आइसोलेसनमा बसेर उपचार गरिने बताए । केही दिनयता रुघाखोकी, ज्वरो, स्वासप्रस्वासमा समस्या, थकाइ लाग्ने, स्वाद तथा गन्ध थाहा नपाउनेजस्ता लक्षण भएका संक्रमित देखिन थालेका छन् ।
अस्पतालमा भर्ना भएका ३३ प्रतिशत संक्रमितमा लक्षण देखिएका छन् । यसैगरी वीर अस्पतालमा दुई जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोभिड–१९ अस्पताल नतोकिए पनि चार वटा आइसोलेसन शय्याको व्यवस्था गरेको वीरका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितलाई पनि उपचार गर्न परिपत्र गरेपछि आवश्यक व्यवस्था गर्न थालेको उनको भनाइ छ । उनका अनुसार वीरमा अहिले १५ संक्रमितलाई उपचार गर्ने व्यवस्था रहेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अहिले नौ जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जना आइसियु र छ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए । उनका अस्पतालमा १५ जनालाई मात्र उपचार गर्ने सक्ने व्यवस्था रहेको छ । ‘हाम्रो अस्पताल कोभिड–१९ का संक्रमितको उपचार गर्न भनेर तोकिएको अस्पताल होइन’ , उनले भने, ‘त्यसैले हामीले धेरै संक्रमित राख्ने सक्ने अवस्था छैन । मन्त्रालयले कोभिड–१९ का संक्रमितको उपचार गर्न निर्देशन दिए भने हामी तयारी गर्दछौँ ।’
नेपालमा अहिलेसम्म २१ हजार ७५० जनामा संक्रमण देखिएको छ । तीमध्ये १५ हजार ३८९ निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालमा मृत्यु हुनेको संख्या ७० पुगेको छ भने सक्रिय संक्रमित ६ हजार २९६ छन् । रासस

प्रतिक्रिया दिनुहोस्