Logo
Logo

गृहसचिव दुवाडीमाथि अख्तियारको निगरानी


7.4k
Shares

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालिन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईसँग भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरन्तर बयान लिइरहँदा गृहसचिव गोकर्णमणी दुवाडीमाथि निगरानी राखेको छ । गृहसचिव दुवाडी हाल विदेशमा रहेका बेला अख्तियारले निगरानीमा राखेको हो । दुवाडीका दाहिने हात मानिएका भट्टराईलाई भारतीय मोष्ट वाण्टेड छाडेको अभियोग लाग्दा पनि बचाएका थिए ।

फाइल तस्बिर

भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने मात्रै होइन, तस्करीमा संलग्न ‘मोस्ट वान्टेड’लाई मिलेमतोमा तेस्रो मुलुक उडाउने काम गरेकोमा पनि दुवाडीले कारवाही गर्नबाट जोगाएर अध्यागमन कार्यालयको प्रमुखमै राखेका थिए ।

करिब दुई महिनाअघि ९५ किलो सुन तस्करी अभियोगमा भारतीय प्रहरीले खोजी गरिरहेका व्यक्तिलाई यसरी उडाइएको थियो  । तर, ‘सिस्टममै डिफल्ट’ आएको वेला अपराधी उम्किन सफल भएको भन्दै उन्मुक्ति पाएका भट्टराईलाई अहिले थप अनुसन्धान शुरु भएपनि त्यतिबेला गृहसचिवले रोकेका कारण उनीमाथि पनि भिजिट भिषा दुरुपयोगको आरोप लागिरहेको छ ।
अहिले भट्टरामाथि अख्तियारले बयान लिइरहेको छ ।

जेठ ७ मा अख्तियारमा उपस्थित गराइएका भट्टराईलाई अनुसन्धान अधिकृतहरूले सुरुमा दुई दिनसम्म लगातार आयोगमा बोलाएर सोधपुछ गरेका थिए । तर, डिएफएल रिपोर्ट नआएको हुनाले उनलाई १० दिनको तारेख दिइएको थियो । अहिले भट्टराईको मोबाइल र ल्यापटप लगायतका डिजिटल उपकरण अख्तियारले नियन्त्रणमा लिएर फरेन्सिक ल्याबमा परीक्षण गरिरहेको छ । फरेन्सिक जाँचको पूर्ण रिपोर्ट आइसकेको छैन ।

भिजिट भिषामा विदेशिनेहरुसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले युएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू पहिचान गरी पक्राउ गर्न खोज्दा भट्टराई उम्किएका थिए । भट्टराईले बिचौलियाहरूसँग मिलेर विमानस्थलमा सेटिङ चलाउने गरेको आरोपमा उनलाई बयान लिन थालिएको हो । यसरी उम्काउनेमा गृहसचिव दुवाडीको हात रहेको स्रोतको दाबी छ ।

भूमिसुधार मन्त्रायलयबाट गृहमा आएको दुवाडीलाई साथ दिने कर्मचारी मध्ये एक भट्टराई पनि थिए । विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने मात्रै होइन, तस्करीमा संलग्न ‘मोस्ट वान्टेड’लाई मिलेमतोमा तेस्रो मुलुक उडाउने काम पनि भएको विषयमा पनि अनुसन्धान गर्दा दुवाडीले सामान्य घट्ना भएको भन्दै रोकेका थिए । ‘सिस्टममै डिफल्ट’ आएको वेला अपराधी उम्किन सफल भएको भन्दै सामसुम पारिएपछि अध्यागमन विभाग पनि मन्त्रालयसँग रुष्ट भएको थियो  ।

भारतीय दूतावासको सिफारिसमा नेपालले पनि कालोसूचीमा समावेश गरेका ती सुन तस्करलाई अध्यागमन कार्यालयका तत्कालीन ड्युटी अफिसर कमलराज उपाध्यायसहितको टोलीले यात्रा अनुमति दिएको थियो  । ‘९५ किलो सुन तस्करीमा संलग्न दुई भारतीय नागरिकलाई हामीले पनि कालोसूचीमा राखेका थियौँ  । तर, उनले हाम्रै अध्यागमन प्रणाली प्रयोग गरेर तेस्रो मुलुक यात्रा गरेका रहेछन्’, स्रोतले भन्यो ।

उपाध्याय भिजिट भिसा प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईको ‘कोर टिम’का सदस्य हुन्  । गृहमन्त्री रमेश लेखकले करिब साढे सात महिनाअघि उनलाई रोजेरै अध्यागमनमा पठाएका थिए  । स्रोतका अनुसार भट्टराईको ‘कोर टिम’मा त्यतिवेला अधिकृतहरू उपाध्यायसहित यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल र सरोज खनाललगायत थिए  । अहिले उनीहरुमध्ये दीपक पाण्डे, प्रभा अर्याल त्यही छन् । अन्यले भने सरुवा मागेर हिडेका छन् ।

प्रतिक्रिया दिनुहोस्