काठमाडौं । खेलाडी मूल्याङ्कनमा विशेषज्ञता राख्ने वेबसाइट ट्रान्सफरमार्क्टको पछिल्लो अपडेटअनुसार १७ वर्षीय लामिन यमलको बजार मूल्य २०० मिलियन युरो पुगेसँगै उनी विश्वकै सबैभन्दा महँगो फुटबलर बनेका छन् । यो उनको लागि कीर्तिमानी उपलब्धि हो ।

यमलले ला लिगादेखि विश्व फुटबलमा युवा प्रतिभाको नयाँ मापदण्ड स्थापित गरेका छन् । २०२४/२५ सिजनमा उनले ५५ खेलमा १८ गोल र २५ असिस्ट गर्दै बार्सिलोनालाई हान्सी फ्लिकको प्रशिक्षणमा सफल बनाए ।
यो सिजन बार्सिलोनाले ला लिगा र स्पेनिस कप जिते पनि च्याम्पियन्स लिगमा इन्टर मिलानसँग नाटकीय हार बेहोरेको थियो । तैपनि, यमलको उत्कृष्ट प्रदर्शनले उनको बजार मूल्य ११.१ प्रतिशतले ले बढेको छ ।
बार्सिलोनाका अन्य खेलाडीको मूल्य पनि उल्लेख्य वृद्धि भएको छ । पेड्रीको मूल्य १४० मिलियन, राफिन्हाको ९० मिलियन र पाउ कुबार्सीको ८० मिलियन युरो पुगेको छ ।