Logo
Logo

मूल्यवृद्धि दर घट्यो, ग्रामीण क्षेत्रमा भने महँगी उच्च


315
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्दै मूल्यवृद्धि दर घटेको जनाएको छ । वैशाख मसान्तसम्म उपभोक्ता मूल्यवृद्धि दर २.७७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.४० प्रतिशतभन्दा कम हो ।

The current image has no alternative text. The file name is: Bank.jpg

खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी समूहहरूको मूल्यवृद्धि दर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत थियो। खाद्य समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर–मदिराजन्य पेयको ४.७० प्रतिशतले बढेको छ । तर, तरकारीको मूल्य ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा–मासुको ०.४८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवाको मूल्य ९.०४ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, कपडा र जुत्ताको ५.२३ प्रतिशत, फर्निसिङको ३.९९ प्रतिशत र रेष्टुरेन्ट–आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ ।
 
ग्रामीण क्षेत्रको मूल्यवृद्धि दर ३.२१ प्रतिशत र शहरी क्षेत्रको २.६१ प्रतिशत छ, जसले ग्रामीण क्षेत्रमा महँगी बढी देखाउँछ । प्रदेशगत रूपमा कोशीमा ४.२९ प्रतिशत, मधेशमा २.८१ प्रतिशत, बागमतीमा २.४० प्रतिशत, गण्डकीमा २.२३ प्रतिशत, लुम्बिनीमा २.१५ प्रतिशत, कर्णालीमा २.२१ प्रतिशत र सुदूरपश्चिममा ३.१४ प्रतिशत मूल्यवृद्धि भएको छ। काठमाडौं उपत्यका र तराईमा २.६४ प्रतिशत, पहाडमा २.६५ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मूल्यवृद्धि भएको छ ।

थोक मूल्यवृद्धि दर पनि ३.९५ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५.६८ प्रतिशत थियो। उपभोक्ता वस्तुको थोक मूल्य १०.८९ प्रतिशत, मध्यवर्ती वस्तुको ०.१० प्रतिशत, पुँजीगत वस्तुको २.७३ प्रतिशत र निर्माण सामग्रीको २.६७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्