Logo
Logo

सौराहाका होटल खुले, तर ग्राहक आएनन्


- दृष्टि न्युज/संवाददाता


चितवन, २४ साउन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेपनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् ।
विदेशी पर्यटक नआउने भएपनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको संक्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन । क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भएपनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए ।
जंगल सफारी लजका सञ्चालक घिमिरेले भने, ‘होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।’ सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए । घिमिरेले थने, ‘हाम्रो अपेक्षा पर्यटक नभएपनि मानिसको आवतजावत हुन्छ । बास बस्न ग्राहक आउँछन् भन्ने थियो, त्यो पनि भएन ।’ आउँदो भदौ १ गतेदेखि आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताए ।

होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन् । रेष्टूराँ एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताउँछन् । लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भएपनि ग्राहक नआएपछि निराश भएको उनको भनाइ छ । शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनको भनाइ छ ।
सौराहामा १०० हाराहारी रेष्टुराँ छन् । तीमध्ये ५६ रेवानका सदस्य हुन् । आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन् । सौराहामा होटलको संख्या ११० रहेको छ, जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल यही साउन १५ गतेदेखि सञ्चालनमा आएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्