काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसको घरेलु मैदानमा भएको खेलमा नेपाल लाओससँग २-१ को गोलअन्तरले पराजित भएको छ । पहिलो हाफको १३औँ मिनेटमा लाओसका दामोथ थोङ्खामसाभाथले हेडरमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको ४९औँ मिनेटमा पिटर पान्थावोङले डिबक्स बाहिरबाट गरेको प्रहार गोलकिपर किरण चेम्जोङले रोक्न नसक्दा लाओसले अग्रता दोब्बर बनायो ।

नेपालका लागि ७३औँ मिनेटमा मनिष डाँगीले पेनाल्टीमार्फत गोल गरेर खेलमा फर्कने सम्भावना देखाएका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा नेपाल पराजित भयो । यो जितसँगै लाओसले नेपालविरुद्ध पहिलोपटक विजय हासिल गरेको छ ।
यसअघि नेपाल र लाओसबीच भएका ६ खेलमा नेपाल अपराजित थियो, जसमा ४ जित र २ बराबरी थिए । यो हारले नेपालको अपराजित रेकर्ड तोडिएको छ। समूह ‘एफ’ मा रहेका दुवै टिमले छनोटको पहिलो खेलमा पनि हार बेहोरेका थिए ।