काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय संगठनहरूसँग नेपालको लगानी र बजार पहुँचबारे छलफल गरेका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा भएको ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा अन्तरराष्ट्रिय रोजगारदाता संगठन (आइओई)का महासचिव रोबर्टो स्वारेज सान्तोस र विश्व व्यापार संगठन (डब्ल्युटिओ)का उपमहानिर्देशक झाङ शियाङछेनसँग छुट्टाछुट्टै छलफल गरिएको महासंघ सचिवालयले जानकारी दिएको हो । आइओईका महासचिव सान्तोससँगको भेटमा अध्यक्ष ढकालले नेपालमा लगानीका सम्भावनाबारे बताएका थिए ।
पर्यटन, जलविद्युत र सूचना प्रविधि क्षेत्रमा लगानीका अवसर रहेको उल्लेख गर्दै उनले भारत र चीनजस्ता ठूला बजारको बीचमा रहेको नेपाल ३ अर्ब जनसंख्याको बजारमा उत्पादन र निर्यातका लागि उपयुक्त गन्तव्य भएको बताए ।
अध्यक्ष ढाकालले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । डब्ल्युटिओका उपमहानिर्देशक झाङसँगको भेटमा ढकालले नेपालले अन्तर्राष्ट्रिय व्यापारमा भोगिरहेका चुनौतीबारे कुरा उठाएको बताइएको छ ।
सन् २०२६ मा अल्पविकसित देशको सूचीबाट माथि उक्लने प्रक्रियामा नेपाललाई शुल्क र कोटामुक्त बजार पहुँच कायम राख्न डब्ल्युटिओले गरेको निर्णयको स्वागत गर्दै उनले प्राविधिक सहायता र लचकताको आवश्यकता रहेको बताए ।
विकसित देशको कृषि अनुदानले नेपाली किसानलाई प्रतिस्पर्धामा कठिनाइ भएको, भन्सार प्रक्रिया र गैर–शुल्कीय अवरोधले निर्यातमा समस्या भएको, र राजस्व घट्दा पूर्वाधार, स्वास्थ्य, र शिक्षामा लगानी गर्न चुनौती भएको उनले बताए ।
महासंघ सचिवालयका अनुसार अध्यक्ष ढकालले साना उद्यमलाई स्तरोन्नतिका प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा वकालत गर्न आग्रह गरे । उपमहानिर्देशक झाङले नेपालको आर्थिक विकास र व्यापार प्रवद्र्धनमा डब्ल्युटिओको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।