Logo
Logo

भारतमा एकैदिन ६१ हजार बढी संक्रमित, हालसम्म ४२ हजारभन्दा बढीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


नयाँदिल्ली, साउन (एएनआई) । भारतमा लकडाउन खुकुलो पारिएसँगै कोरोनाभाइरसको संक्रमणमा भूसको आगोजस्तै फैलिँदै गएको छ । प्रत्येक दिन भारतको संक्रमित बढिरहेका छन् भने मृत्यु हुनेको संख्या समेत बढ्दै गएका छन् ।
भारतमा पछिल्लो समय एकैदिनमा ६१ हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ।
त्यस्तै, सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै शनिबारसम्ममा भारतमा कुल संक्रमितको संख्या २० लाख ८८ हजार ६१२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४२ हजार ५१८ पुगेको पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयले भारतमा अहिले पनि छ लाख १९ हजार ८८ जना संक्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार ६ जनालाई भने निको भइसकेको छ ।
कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८८९ जना अहिले पनि सङ्क्रमित रहेका छन् । त्यहाँ कुल संक्रमित मध्ये तीन लाख २७ हजार २८१ जना संक्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्