Logo
Logo

उपत्यकामा सय भन्दा बढी स्थानमा संक्रमण, कोटाल टोल ‘सिल’


- दृष्टि न्युज/संवाददाता


काटमाठौं, २४ साउन । काठमाडौं महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना संक्रमण बढेपछि त्यस क्षेत्रलाई सिल गरिएको छ ।

महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना संक्रमण देखिएपछि शनिबार टोललाई नै सिल गरिएको हो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।
केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखिएको थियो । समुदायका २५ जनाको परीक्षणमा अन्य थप ६ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनको भनाइ छ ।
डंगोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने जानकारी दिए । सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौँको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उनले बताए ।
पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ संक्रमण बढ्दो क्रममा छ । शुक्रबार मात्रै उपत्यकामा एक सय भन्दाबढीमा कोभिड–१९ संक्रमण भएको थियो । संक्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ । उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् ।
काठमाडौँ उपत्यकामा अहिलेसम्म झण्डै एक हजार व्यक्तिमा कोरोना देखिइसकेको छ । उपत्यकाको एक सयभन्दा बढी स्थानमा कोभिड–१९ देखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्