काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल ९९ औँबाट १०० औँ स्थानमा झरेको हो । सन् २०२५ मा थाइल्यान्डसँग भएको एकमात्र मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो ।

नेपाललाई हराएको थाइल्यान्ड एक स्थान सुधार गर्दै ४६ औँ स्थानमा उक्लिएको छ । थाइल्यान्डले यो वर्ष तीन खेल खेलेको थियो ।
भारत पनि एक स्थान तल झर्दै ७० औँ स्थानमा छ । जोर्डन ७५ औँ स्थानमा कायम छ भने बङ्गलादेशले पाँच स्थान सुधार गरी १२८ औँ स्थान हासिल गरेको छ।
फिफा वरीयतामा इजिप्टले सात स्थानको उल्लेखनीय सुधार गर्दै ९३ औँ स्थानमा पुगेको छ । शीर्ष वरीयतामा अमेरिका पहिलो, स्पेन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् । ब्राजिलले चार स्थान सुधार गरी चौथो स्थानमा रहेको छ ।