काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ । अघिल्लो कारोबार दिन बुधवार घटेर बन्द भएको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक ९.०८ अङ्क घटेर २६५५.३८ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १.९९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अङ्क घटेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बुधवार ९ अर्ब ९० करोडको सेयर खरिदबिक्री भएको बजारमा बिहीबार ३११ स्टकको १ लाख २ हजार ८९५ पटकको कारोबारमा १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड ८६ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
पियोर इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ७४ रुपैयाँ ९० पैसा बढेर ८२४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, चन्द्रागिरी हिल्सको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावरको ५ .९९ प्रतिशतले बढेको छ । कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ९ .९० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ८ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरको ७५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब साढे ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत बढेको छ । त्यस्तै,वित्त, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक मङ्गलवार सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।











