Logo
Logo

मन्त्री गुरुङद्वारा दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढी र पहिरोमा परी आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घरपरिवार विस्थापित भएपछि उनीहरुलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं शनिबार प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुग्नु भएको हो ।

जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुग्नुभएका उहाँले बाढीपहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिनुभएको थियो भने जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

मन्त्री गुरुङकै पहलमा रेडक्रसलगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आज (आइतबार)बाट वितरणको काम पनि शुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिनुभयो । त्यस क्रममा मन्त्री गुरुङले जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा गएर बस्न पनि आग्रह गर्नु भएको थियो ।

मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीसहित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, पत्रकारहरुलगायत सहभागी भएका थिए । सो बाढि र पहिरोमा परी कालिञ्चोक गाउँपालिका वडा नम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यान गएको थियो भने ठूलै धनमालको क्षति भएको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्