Logo
Logo

कर्मचारीमा संक्रमण पुष्टिपछि आइएमई बैंक बन्द


- दृष्टि न्युज/संवाददाता


लहान, २५ साउन । यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।
महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो । त्यसपछि सो बैंकलाई सिल गरी त्यहाँ कार्यरत कर्मचारीलाई यहाँस्थित एक होटलमा क्वारेन्टिमा राखिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले जानकारी दिए ।
रुघाखोकी र ज्वरोसहित लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण देखिएको र उनी अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन रहेको स्वास्थ्य शाखाप्रमुख यादवले बताए । संक्रमित ती कर्मचारी केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टिनमा राखिएको जनाइएको छ । बैंकका कर्मचारीमा संक्रमण पुष्टि भएसँगै यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आजदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ ।
यस्तै सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षकसहितका सशस्त्र प्रहरीलाई क्याम्पभित्रै क्वारेन्टिनमा राखिएको स्वास्थ्य प्रमुख यादवले बताए ।
संक्रमित बैंकका कर्मचारी तथा सशस्त्र प्रहरीको कन्ट्र्याक्टमा आएकाको पनि पहिचान गरी पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने तयारी भइरहेको स्वास्थ्य शाखाप्रमुख यादवले जानकारी दिए । कोरोना संक्रमतिको संख्या बढ्दै गएको भन्दै लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म नगर क्षेत्रमा लकडाउन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्