Logo
Logo

महिन्दा राजापाक्ष चौथोपटक श्रीलंकाको प्रधानमन्त्री नियुक्त


(एजेन्सी)


कोलम्बो, २५ साउन (एजेन्सी) । श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको सपथ लिएका छन् । संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
राजापाक्षले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिएका थिए । सपथ कार्यक्रममा कुटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरुको उपस्थिति थियो ।
राजापाक्षले श्रीलंकामा यो सहित चौथोपटक प्रधानमन्त्री पदको सपथ लिएका छन् । राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उनको नयाँ मन्त्रिपरिषद यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ ।
श्रीलंकाली निर्वाचन आयोगका अनुसार गत बुधबार सम्पन्न चुनाव श्रीलंकाको इतिहासमै पहिलो पटक सर्वाधिक शान्तिपूर्वक रुपमा सम्पन्न भएको थियो । कोरोनाभाइरसको महामारीका बाबजूद यस चुनावमा करिब ७१ प्रतिशत मतदान भएको थियो । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षका अनुसार नयाँ संसदको बैठक आगामी अगस्ट २० मा शुरु हुनेछ ।
श्रीलंकाली इतिहासमा भाई गोटाबाया राष्ट्रपति र दाई महिन्दा राजापाक्ष एकैपटक मुलुकका दुई सर्वोच्च राजनीतिक पदमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्