काठमाडौं । सातको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार ०.४७ अङ्क बढेर बन्द भएको नेप्से, आज २.८० अङ्क बढेर २६५८.६६ विन्दुमा पुगेको छ । त्यस्तै,फ्लोट इण्डेक्स ०.१५ अङ्क बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अङ्क घटेको छ।

नेप्से सामान्य बढे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । आइतबार करिब साढे ११ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको १ लाख ५ हजार ६३५ पटकको कारोबारमा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँबराबरको ३ करोड ३६ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पियोर इनर्जी र पिपुल्स पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । पियोर इनर्जी दोस्रो बजारमा सूचीकृत भएदेखि निरन्तर बढीरहेको कम्पनीको हो भने पिपुल्स पावर ५० प्रतिशत हकप्रद सेयर समायोजन भएर कारोबारमा आएको कम्पनी हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशत घटेको छ ।
करोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९५ करोड १६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको करिब साढे ९० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने बुटवल पावर कम्पनीको साढे ५८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।











