Logo
Logo

लुम्बिनीमा डिआइजीकै घुमुवा पक्राउ


27.8k
Shares

काठमाडौं । तस्करीको स्वर्ग मानिएको लुम्बिनी प्रदेश नेपाल र सशस्त्र प्रहरी दुवैका लागि आकर्षक विन्दु हो । त्यहाँ जानका लागि सबैजसो प्रहरी अधिकृतहरुले शक्तिकेन्द्रका बिचौलियाहरुलाई कुनै न कुनै रुपको नजराना नबुझाएको भन्ने नै हुन्न । जो गृहमन्त्री आएपनि उनीहरुको कृपादृष्टि भएन भने लुम्बिनी प्रदेशका कुनै पनि जिल्लामा सरुवा हुँदैन ।

शक्तिकेन्द्र वा मन्त्रीको कृपादृष्टिबाट त्यहाँ पुगेका प्रहरी अधिकारीहरुको ध्यान कसरी कमाउने भन्नेमै केन्द्रित हुन्छ । केही जिल्ला प्रहरी कार्यालयका प्रमुखका घुमुवा, केही डिआइजीका घुमुवाको रुपमा देखा परेका प्रहरी कर्मचारीहरुले खुलेआम घुस मागिरहेका हुन्छन । केही दिन अघि मात्रै लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका दुई जना घुमुवा प्रहरीसहित पाँच जना व्यापारीसँग पाँच लाख रुपैयाँ जबर्जस्ती असुली गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना प्रहरी सहायक हवलदार, एक जना सशस्त्र प्रहरीका जवान, एक जना व्यापारी र एक जना आफुलाई भ्रष्टाचार विरोधी अभियान्ता बताउने व्यक्ति रहेका छन् ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा लुम्बिनी प्रदेश प्रहरीबाट खटाइएका प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, परमानन्द कूर्मी, सशस्त्र प्रहरीका जवान रामसुन्दर चौधरी, कोहलपुर–११ निवासी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र अभियान्ता बताउने सूर्यप्रसाद रिजाल रहेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित पुरानो बसपार्क नजिकै ‘थ्रिस्टार मोबाइल पसल’ सञ्चालक लक्ष्मण कुँवरबाट ५ लाख रुपैयाँ असुली गरिएको उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।उजुरी दर्ता भएपछि प्रहरी सहायक हवलदार खान, कुर्मी, भण्डारी र रिजाललाई जेठ २८ गते र सशस्त्र जवान चौधरीलाई २९ गते पक्राउ गरिएको थियो ।

सादा पोशाकमा पुगेका ती व्यक्तिहरूले आफूहरू ‘नार्कोनन अनुसन्धान विभाग’बाट आएको भन्दै डर देखाई व्यापारीलाई लागुऔषध मुद्दामा फसाउने धम्की दिएर रकम असुल्न खोजेका थिए । घटनामा संलग्न प्रहरी सहायक हवलदारहरू डीआईजी राजेन्द्रप्रसाद भट्टले घुमुवाका रुपमा बाँके र बर्दिया जिल्लामा खटाएका व्यक्ति हुन ।

यद्यपि, उनीहरूको दरबन्दी लागूऔषध नियन्त्रण ब्युरोमा रहेको र डीआईजी भट्टले मौखिक रूपमा जिम्मेवारी दिएको जनाइएको छ । सशस्त्र प्रहरी जवान चौधरी भने चौलिकास्थित सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका घुमुवा हुन् । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

व्यापारीले रकम बुझाउने क्रममा भारतीय नम्बर प्लेट (यूपी ५० एए ९८८५) को कारमा आएका ती व्यक्तिहरूको गतिविधि सीसीटीभीमा कैद भएपछि घटना सार्वजनिक भएको थियो । अनुसन्धानका क्रममा स्थानीय गोविन्द भण्डारी र सुर्य रिजालले घुमुवा प्रहरीसँग मिलेमतो गरेको पुष्टि भएको छ । पक्राउ परेका पाँचै जनाविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ । यो विषयमा लुम्बिनी प्रदेशको डिआइजी कार्यालयले केही बताएको छैन । साथै लुम्बिनी प्रदेश र आसपासबाट हुने गरेको गोरु तस्करी यसअघि पाँच महिना जति रोकिएकोमा पुनः सूचारु भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्