Logo
Logo

चीनद्वारा ११ प्रभावशाली अमेरिकी नागरिकमाथि प्रतिबन्ध


(एएफपी)


बेइजिङ, २६ साउन (एएफपी) । चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुजसमेतका ११ जना प्रभावशाली अमेरिकी नागरिकविरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ ।
हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा हङकङसँग सम्बन्धित मामिलामा केही मानिसले नराम्रो व्यवहार गरेकाले प्रतिबन्धहरु लगाउनु परेको जानकारी दिए ।
चिनियाँ प्रतिबन्धको सूचीमा ह्युमन राइट्स वाचका निर्देशक केनेथ रथ र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल गर्सम्यान पनि रहेका छन् ।
अमेरिकाले शुक्रबार हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र १० जना चिनियाँ वरिष्ट अधिकारीको संयुक्तराज्य अमेरिकामा रहेका सम्पत्ति रोक्का राख्ने घोषणा गरेको थियो । चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेपछि त्यसको विरोधमा अमेरिकाले कडा प्रतिबन्धहरु घोषणा गरेको बताइएको छ ।
अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लाम र प्रतिबन्धहरु घोषणा गरिएका अरु चिनियाँ वरिष्ट अधिकारीहरुले चीनका नीतिहरु हङक¬ङमा कार्यान्वयनमा ल्याउन प्रमुख भूमिका निर्वाह गरेको आरोप लगाएको छ । प्रवक्ता झाओले अमेरिकी कदमले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्